जुम्ला : जुम्लामा यो वर्ष करिब १८ हजार दुई सय ४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लस्थित कृषि विकास कार्यालयको तथ्यांकअनुसार जुम्लाका आठवटा स्थानीय तहका २४ हजार आठ सय ३८ परिवारमध्ये १९ हजार एक सय ५० परिवार स्याउखेतीमा संलग्न छन् ।
जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार चार सय ३५ हेक्टर रहेको कार्यालयले जनाएको छ । त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आर्थीक वर्ष २०८१÷८२ मा चार हजार तीन सय २५ हेक्टर रहेकामा चालु आर्थीक वर्षमा बढेर चार हजार चार सय ४५ हेक्टर पुगेको कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थीक वर्षमा दुई हजार एक सय २५ हेक्टरमा मात्रै स्याउ फलेको हो ।
पछिल्लो समय जिल्लामा स्याउखेती गर्ने किसान बढ्दै गएका छन् । आर्थीक वर्ष २०८१÷८२ मा स्थानीय जातका र उच्च घनत्व (फुजी) स्याउको कूल उत्पादन २० हजार पाँच सय १२ मेट्रिकटन भएको थियो । चालु आर्थीक वर्षमा उत्पादन घटेर १८ हजार दुई सय ४५ मेट्रिकटन भएको कृषि विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार यो वर्ष असिना र वेमौसमी वर्षाले गर्दा १० प्रतिशतले उत्पादन घटेको हो ।
अहिले एक हजार सात सय ६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ । यो वर्ष जिल्लामा स्याउ बिक्रीमा संलग्न किसान सात हजार तीन सय ५० र व्यापारी छ सय ३ रहेका कृषि विकास कार्यालय प्रमुख अधिकारीले बताए । नासो र कोसेलीमार्फत दुई हजार छ सय ४८ मेट्रिकटन स्याउ जिल्लाबाट निर्यात भएको उनले जानकारी दिए ।
जुम्लामा हाल ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउ उत्पादन हुने गरेको छ । यो वर्ष जिल्लामा पाँच सय ८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएको जनाउँदै उनले त्यसमध्ये चार सय २७ मेट्रिकटन निर्यात भएको बताए ।
जुम्लामा हाल उत्पादित स्याउका जातहरूमा ‘रेडडेलिसियस’, ‘रोयलडेसियस’, ‘गोल्डेन डेलिसियस’, ‘रिचारेड’ र ‘जनाधन’ रहेका कृषि विकास कार्यालयले जनाएको छ । हाल उत्पादित उन्नत जातमध्ये फुजी गाला (इटालियन जात)को स्याउखेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नयाँ सिफारिस गरेका जातमध्ये ‘स्टारकिमसन’, ‘डेलिसियस’, ‘बाइट एन अर्ली’ र ‘स्टार्क स्पर गोल्डेन’ जात रहेका भन्दै उनले सोको खेतीबारे अध्ययन भइरहेको जानकारी दिए । गत वर्षको तुलनामा स्याउ उत्पादन कम भए पनि यो वर्ष किसानले मूल्य पाएकाले आम्दानी भने बढी भएको अनुमान गरिएको जनाइएको छ ।






